शनिबार · श्रावण २३, २०८३ |काठमाडौँ २४° हाम्रो बारेमा सम्पर्क
Dainikmandu
नेपाली समाचार पोर्टल
ताजा
समाज

वीरगञ्जमा ट्याङ्करबाट इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ

वीरगञ्जमा ट्याङ्करबाट इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ

पर्सा प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक-खण्डमा अवस्थित सौदागर आयल सेन्टरमा छापा मार्ने क्रममा ट्याङ्करसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) बाट जाँचपास भई नेपाल भित्रिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करबाट अनधिकृत रूपमा इन्धन चोरी गरी बिक्री-वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक-खण्डमा अवस्थित सौदागर आयल सेन्टरमा छापा मार्ने क्रममा ट्याङ्करसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बिहीबार साँझ ना.७ ख १५३ज्ञ नम्बरको ट्याङ्करमा लगाइएको सिल फलामको पाइप र हुकको प्रयोग गरी उचालेर अवैध रूपमा इन्धन निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात फेला पारिएको थियो ।

पक्राउ पर्नेहरूमा सौदागर आयल सेन्टरका सञ्चालक वीरगञ्ज–३ मालपोत चोक बस्ने ५५ वर्षीय सुनैन मियाँ, पम्पका लेखापाल वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी र क्यासियर वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ रहेका छन् ।

त्यसैगरी, इन्धन चोरीमा संलग्न ट्याङ्करका चालक तथा सह-चालकहरू हेटौँडा उप-महानगरपालिकाका मन्द सिंह लामा (ना.७ ख १५३९ का चालक), उमेश राना मगर (ना.७ ख १५३९ का सह-चालक), केशर राम सुनार (ना.७ ख २८०४ का चालक) र सन्देश राना मगर (ना.७ ख २८०४ का सह-चालक) लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैजनामाथि कानुनी कारबाहीका लागि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार