शनिबार · श्रावण २३, २०८३ |काठमाडौँ २४° हाम्रो बारेमा सम्पर्क
Dainikmandu
नेपाली समाचार पोर्टल
ताजा
समाज

वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेहरूमा सुर्खेत घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४६ वर्षीया धना तिवारी, बागलुङ घर भई काठमाडौँको कीर्तिपुर बस्ने ३३ वर्षका राम बहादुर खड्का र दार्चुला घर भई चन्द्रागिरी बस्ने ३० वर्षका सुबोध जंग कुँवर रहेका छन्।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरूमा पठाइदिने र उच्च तलबको प्रलोभन देखाएर सर्वसाधारणबाट ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४६ वर्षीया धना तिवारी, बागलुङ घर भई काठमाडौँको कीर्तिपुर बस्ने ३३ वर्षका राम बहादुर खड्का र दार्चुला घर भई चन्द्रागिरी बस्ने ३० वर्षका सुबोध जंग कुँवर रहेका छन्।

आरोपी तिवारीले न्यूजिल्याण्ड पठाइदिने भन्दै पाँच जना पीडितबाट रु. १६ लाख, खड्काले जर्मनी पठाइदिने भन्दै एक जनाबाट रु. २५ लाख र कुँवरले युएई पठाइदिने भन्दै रु. ६ लाख लिई सम्पर्कविहीन भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी परेको थियो।

पीडितहरूको सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले तिवारीलाई बुधबार सूर्यविनायकबाट तथा खड्का र कुँवरलाई बिहीबार क्रमशः चाँगुनारायण र काठमाडौँ महानगरपालिका-१२ बाट नियन्त्रणमा लिएको हो।

आकर्षक वैदेशिक रोजगारीको लोभमा पारेर कुल रु. ४७ लाख ठगी गर्ने यी तीनै जनालाई थप अनुसन्धान तथा कानुन बमोजिमको कारबाहीका लागि काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार