
महोत्तरी । महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीको गाडीबाट भागेपछि दुवैजनालाई प्रहरीले गोली हानेको थियो ।
घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । दुवै जनाले यही कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट रु एक लाख नगद, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेका थिए ।

प्रहरीले गरुडा नगरपालिका–४ पानीट्याङ्की नजिकैबाट उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोबाइल एक थान र नगद रु चार हजार बरामद गरेको छ ।
पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । करिब रु ६० लाख लुटपाट गरेको आरोपमा दुबै जना लाई आवशयक अनुसधान सुरु गरिएको प्रहरीले जनाएको छ ।