
काठमाडौं । डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले आगामी असार ८ र ९ गते डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना हुने भएको छ ।
काठमाडौँम कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जनाएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए ।

‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाई सघाउ पुर्याउने गरी फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको बृहत् सम्मेलन हो । कन्क्लेभमा नेपाल, भारत, बङ्गलादेश, दक्षिण कोरिया, सिङ्गापुर, अमेरिकालगायत मुलुकबाट प्रस्तुतिको लागि विज्ञहरूको उपस्थिति हुनेछ ।
कन्क्लेभ आयोजनाका लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । ह्वावे नेपालका सिइओ हवांङ जुन र फाउन्डेसनका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो ।