
सर्लाही । सर्लाहीमा वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ। चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।
यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।