काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ ।
सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै लगेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानून निर्माणदेखि भएका कानूनको परिपालनामार्फत जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने अभियानको थालनी गरिएको बताए ।
संविधानसभाबाट संविधान निर्माण हुनु नेपालमा ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दशवर्षे जनयुद्ध, २०६२।०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको बताए ।
संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको उनले बताए ।