
बारा । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान देशभरको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ । छठ पर्व विशेष गरि तराईको जिल्लामा विभिन्न पोखरी, तलाउ तथा जिल्लाको नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन शुक्रबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए ।
शनिवार सुर्यास्त पछि एक छाक खाने, आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सुर्यलाई अर्घ दिने चलन छ। सुर्यलाई अर्घ दिए संगै छ्ठ औपचारिक रुपमा सम्पन्न भएको छ ।