काठमाडौँ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना लाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट असुल गर्ने पनि फैसला भएको छ ।
प्रेम बहादुर चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो । तर काठमाडौँ जिल्ला अदालतले भने आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योगभन्दा पनि शरीर अङ्गभङ्ग गराउने उद्देश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।