काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ ।
सामुदायिक विद्यालयको संख्या ८९ रहेको छ । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत छन् । रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ ।
गएको शैक्षिक सत्र २०८० मा करिब ३९ हजार ९५२ जना विद्यार्थीले अध्ययन गरे । यस बर्ष प्रारम्भिक बाल विकास कक्षाहरुमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ ।
विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरुबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए ।