काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन ।
कात्तिक १९ देखि २२ गतेसम्म इन्टरपोल महासचिवालयद्वारा आयोजित यो महासभा संयुक्त राज्य बेलायतको ग्लास्गोमा सञ्चालन हुने छ ।
नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि उक्त महासभामा सहभागी हुन बेलायत प्रस्थान गरेका हुन ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना सहित बिदाइ गरेका छन ।