२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

TikTok 'Hopeful' to Make Comeback in India: Report

केही समय अगाडि टिकटकर अंशु बर्माले कुनै एउटा युट्युब च्यानलमा टिकटकबाट उनले करोड कमाएको भनेर इन्टरभ्यू दिएपछि ठूलो तरङ नै आयो बजारमा।

Vivo Y28

अंशु बर्माको उक्त कुरा सामाजिक सन्जालमा फैलिएपछि धेरैजसो टिकटक युजरले त्यो कुरा पत्याएर दिन-रात टिकटकमा लाइभ बसेर यसलाई फलो गर, त्यसलाई फलो गर, टपमा जाऊ, ए लेख बि लेख भन्दै गेम खेलाउने गिफ्ट माग्ने गरेको देखिन्छ।

अचम्म लाग्दो कुरा चाहिँ  जसरी अंशु बर्माले टिकटकमा आएर जसरी बोल्ने, गेम खेलाउने गर्छन् त्यसरी नै टिकटक लाइभ आएर अंशु बर्माको हर्कतलाई जस्ताको तस्तै फलो गरेको देखिन्छ।

अधिकांश व्यक्तिहरू दिन-रात टिकटक लाइभ आएर प्लिज चस्मा लगाइदिनुस्, यति वटा रोज फ्यलिदिनुस्, मलाई कार चाहियो, मलाई हेलिकप्टर चाहियो भन्दै मेरोमा यति डलर आयो आज त्यति डलर आयो भन्दै एक-एक हिसाब गर्दै बसेको देखिन्छ।

सामान्य युजरदेखि लिएर सेलिब्रिटी, नेताज्यूहरू, कलाकारहरूसम्म  लाइभ आएर गिफ्ट मागेको देखिन्छ।

हेर्दाखेरी यो एउटा सामान्य विषय देखिन्छ तर गहिरिएर अध्ययन गर्दा यो एउटा गम्भीर समस्या हो।

यो समस्या टिकटक एपको नभएर यसै पैस फल्छ भनेर टिकटकमा मरिहत्य गरेर पछिलाग्ने गलत र भ्रमित सोच र बुझाइको हो।

के बिना मेहनत टिकटकमा लाइभ आउँदा पैसा आउँछ। त्यो पनि लाख, करोडमा? के सेलिब्रेटीको ट्याग भिरेको समाजमा सुपरिचित व्यक्तिले लाइभमा आएर यो देऊ, त्यो देऊ भनेर रोइलो गर्न सुहाउँछ त? कति पछाडि छ त हाम्रो देश नेपाल? यो अहिलेको जल्दोबल्दो समस्या हो।

केही आफ्ना व्यक्तिगत धारणा र अनुसन्धनको क्रममा देखिएका भेटिएका कुरालाई यो लेखमा समेट्ने प्रयास गरेको छु।

भनिन्छ अहिलेको युग भनेको इन्फर्मेसन र कम्युनिकेसनको हो। साइन्स र टेक्नोलोजीको विकासले संसारले कोल्टो फेरिसकेको छ।

पूरा विश्वनै एउटा सानो ग्लोबल भिलेज भएको छ। प्रविधिको विकाससँगै नयाँ-नयाँ एप आएका छन् दिनानुदिन।

टिकटक एउटा निक्कै चर्चित एप हो अहिलेको समयमा।

यसमा निकै राम्रो कन्टेन्ट दिने युजरहरू पनि धेरै भेटिन्छन्। धेरै कुराको इन्फर्मेसन टिकटकबाट सजिलै पाइन्छ।

कता-कता मलाई लाग्छ यो एपले युट्युबलाई नै चुनौती दिइरहेको छ किनकि टिकटकमा छोटो छोटो क्लिप रखिएको हुन्छ अनि हेर्नलाई निक्कै सजिलो छ।

आजकाल कुन गीत चालिराछ?, कुन गीत ट्रेण्डिङमा छ?, टेलिभिजनमा भएका प्रोग्रामहरूको क्लिप, नयाँ-नयाँ ठाउँको जानकारी, कहाँ के भैरहेको छ आदि सब कुराको जानकारी टिकटकबाट पाइन्छ।

अर्को राम्रो कुरा धेरै मानिसका लागि समय बिताउने माध्यम बनेको छ भने धेरेले आफ्नो धारणा राख्ने, आफ्नो विचार व्यक्त गर्ने प्लेटफर्म बनेको छ टिकटक।

धेरै व्यक्तिहरूले आफ्नो कला देखाउन पाएका छन् भने कतिपय त सेलिब्रेटी पनि बनेका छन् टिकटकबाट।

तर दु:खको कुरा किन मानिसहरूले यसलाई दुरूपगोग गरिरहेका छन्? किन मानिसहरूले गरिब र अशिक्षाले ग्रस्त सोच पस्किरहेका छन् त?

केही समय अगाडि मेरो एक जना साथीले टिकटकमा राम्रो कमाइ हुँदोरहेछ कसरी कमाउने होला भनेर मलाई सोधिन्।

म उनको यो प्रश्नले अलमल्ल परें र मसँग कुनै उपयुक्त जवाफ थिएन र म नाजवाफ रहें।

त्यसपछि मैले सोचेकी टिकटकमा अपलोड गरिएका भिडिओको आधारमा दिनेरैछ तर त्यो कुरामा म अनविज्ञ रहेछु।

केही दिनपछि मैले युट्युबमा भिडिओ देखें कि टिकटकमा सजिलै पैसा कमाउन सकिन्छ।

मैले यति कमाएँ, त्यति कमाएँ भनेर प्रुफ देखाउँदै इन्टरभ्यु दिएको केही टिकटकरको कुरा सुनें।

म छक्क परें। त्यसपछि यो विषयमा केही खोज तथा अनुसन्धान गर्न मन लाग्यो। त्यसपछि टिकटक स्क्रोल गर्दा देखेकी धेरैजसो टिकटक युजरहरू लाइभ आएर यो आयो, त्यो आयो, यो दिनुस् त्यो दिनुस् भनेको पाएँ।

यो सब देख्दा म अचम्म परें। कसरी हुन्छ यस्तो लाइभ बसेर कराउँदैमा टन्नै पैसा कमाउने?

एक हप्ता अगाडि  मैले चिनेको एक जना दिदीलाई टिकटकमा भिख मगिरहेको अवस्थामा पाएँ। उहाँको भाषा थियो कि ‘मेरा डियर फ्रेन्डस मलाई गिफ्ट दिनुस्, छिटो छिटो, चस्मा लाइदिनुस्, मलाई कार चाहियो छिटो छिटोु भन्दै कराइ रहेको देखें।

म जतिबेला टिकटक स्क्रोल गर्थे हरेक समय लाइभ आएर त्यही अवस्थामा पाउथ्ये उहाँलाई।

यो हेर्दाखेरी सामान्य कुरा देखिन्छ तर यो अज्ञानता र अशिक्षाको ठूलो संकेत हो।

लाइभ आउनु, गफ-गाफ गर्नु, टिकटक चलाउनु कुनै नराम्रो काम होइन तर दिन रात लाइभ आएर यो देऊ त्यो देऊ भनेर रोइ-कराइ गर्नु डरलाग्दो समस्या हो।

एकजना नेतृ  दिनरात टिकटकमा लाइभ आएर, गिफ्ट माग्दै बसिरहेकी हुन्छिन्।

कुनैदिन म उनको लाइभमा पुगेछु र म एकछिन त्यहीँ अड्किएँ।

मलाई उनको वैचारिक कुरा सुन्न मन लाग्यो। के रहेछ उनको विचार भनेर केहीबेर उनका कुरा सुनिरहे।

म करिब ५ मिनेट उनको लाइभमा बसें।

उनको लाइभमा अर्को एक जना व्यक्ति जोडिएका थिए।

उनले नेतृलाई उनको राजनीतिक बुझाइ र देशको समसामयिक अवस्थासँग सम्बन्धित प्रश्नहरू सोधिरहेका थिए।

तर लज्जास्पद कुरा ती नेतृ उनको प्रश्नको एउटा पनि चित्तबुझ्दो जवाफ दिनसकिरहेकी थिइनन्।

प्रश्न सोधाइको तरिका र प्रश्नहरु सुन्दा स्पस्ट हुन्थ्यो कि कुनै पत्रकारले नेतालाई प्रश्न सोधिरहेको छ। ती नेतृको पूरा ध्यान पत्रकारको प्रश्नतिर थिएन उनको ध्यान थियो त गिफ्टतिर।

यसो कमेन्ट सेसनतिर हेर्दा त्यहाँ नराम्रा कमेन्टहरू पनि प्रशस्तै थिए। तपाईंलाई लाज लाग्दैन जतिबेला पनि लाइभ आएर यसरी बस्न? जोसँग नि गिफ्ट माग्न? तर उनले ती कमेन्टलाई पूर्णरूपले बेवास्था गरिरहेकी थिइन्।

मलाई यस्तो देख्दा निकै दु:ख लाग्यो। हेर्दा सुन्दा यो सामान्य कुरा देखिएता पनि यो जटिल विषय हो।

एउटा देशको ठूलो पार्टीमा आबद्ध नेतृले टिकटकमा आएर त्यो लेबलको हर्कत देखाउनु निकै हाँस्यास्पद र लज्जास्पद विषय हो।

भोलि तिनीजस्तै नेताले हो देश चलाउने!

हामी देश विकास भएन भन्छौ यस्तै- यस्तै नेताले गर्दा हो।

कतिसम्मको गरिब सोचले ग्रसित छन् हाम्रा देशका नेता/नेतृ भन्ने कुरा यो उदाहरणबाट प्रस्ट हुन्छ।

अन्यथा नलागोस् सबै नेताहरू यस्तो छैनन्।

राम्रा/असल नेताहरू पनि छन् र राम्रो नेताले यस्तो प्रवृत्ति पक्कै पनि देखाउँदैन।

लगभग १-२ महिना जति भयो होला टिकटकमा प्रशस्त पैसा कमाउन सकिछ भनेर अधिकांश टिकटकर आफ्नो धेरैजसो समय टिकटक लाइभमा बिताइरहेको देखिन्छ।

१००० फलोवर्स हुनेदेखि लिएर मिलियन्स फलोवर्स हुने सबै लाइभमा देखिन्छन्।

अचम्म लाग्ने कुरा त ठूलो पर्दामा मूभि खेल्ने कलाकार, मोडेल समेत टिकटकमा लाइभ आएर घन्टौं समय बिताएको देखिन्छ।

यो सब देख्दा लाग्छ कि कसरी मान्छेमा टिकटकमा लाइभ बस्ने बित्तिकै पैसा आउँछ भन्ने गलत बुझाइको सिकार बनेका छन्।

टिकटकमा यसरी गिफ्ट मागेर रोइलो गर्नु आफ्नो धेरैजसो समय त्यही बिताउनु भनेको अज्ञानता, अशिक्षा र गरिबीको विकराल रोग  हो।

टिकटकमा लाइभ आएर झुण्डिएर रोइलो गर्ने समयमा मानिसले कुनै राम्रो पुस्तक पढ्ने हो भने उसमा राम्रो सोचको विकास हुनसक्छ।

कुनै दिन दर्जनौ म्युजिक भिडिओ तथा नेपाली सिनेमामा ठूलो पर्दामा समेत अभिनय गरेर केही चर्चा कमाएकी एक जना हिरोइन समेत टिकटक लाइभ आएर गिफ्ट मागिरहेको देख्दा साह्रै दु:ख लाग्यो।

उनको समस्या उनी लाइभ आउनु र  गिफ्ट माग्ने कुरासँग मात्र नभएर उनको चेतनाको स्तर र अशिक्षासँग थियो। यो त एउटा उदाहरण मात्र हो हाम्रो देशका नायिकाहरू कसरी आफूलाई पब्लिकसँग आफ्नो हर्कत र चेतनाको स्तर  पस्कनछन् भन्ने कुराको।

बजारमा राम्रो छाप बनाएका गायक गायिकाहरू पनि टिकटकमा लाइभ आएर रोइलो देखाउने माम्लामा कमी छैनन्।

गायक-गायिकाहरू पनि लाइभ आएर गिफ्ट मागिरहेको देखिन्छ।

यो सब देख्दा दु:ख यो कुरामा लाग्छ कि हामी नेपालीहरूमा शिक्षा र चेतनाको निकै कमी छ।

यदि मानिसलाई यति मेहनत गरेपछि यति पैसा कमाइन्छ। यसरी खोज गर्नुपर्छ, यति पुस्तक पढ्नुपर्छ यो-यो ठाउँमा जानुपर्छ, यति समय बिताउनुपर्छ भन्ने हो भने धेरै मानिसले त्यो काममा हात हाल्दैनन्। तर केही नगरी यसै लाइभ आएर बस्दैमा पैसा आउँछ भनेपछि मानिसको यति ठूलो भिड-भाड लागेको हो टिकटकमा।

टिकटकमा गिफ्ट आउने भनेको क्रेडिट कार्ड प्रयोग गर्नेहरूबाट हो।

जुन नेपालमा त्यति सजिलो छैन क्रेडिट कार्ड प्रयोग गर्न। जोकोहीले सजिलै क्रेडिट कार्ड प्रयोग गर्न त्यति सजिलो छैन नेपालमा।

यो सब विदेशमा बस्ने नेपलीहरूले पठाउने रहेछन्। विदेशमा बस्ने नेपालीहरू धेरैजसो रोजगारीको सिलसिलामा गएका हुन्। विदेशमा पक्कै पनि सजिलै रूखमा पैसा फल्दैन।

अर्काको देशमा गएर रगत-पसिना बगाएर कमाएको पैसा त्यति सजिलै दिनु भनेको सानो कुरा होइन। कसैले रगत-पसिना बगाएर अरूको भूमिमा गएर कमाएको पैसा आफूले मागेर लिएर प्रयोग गर्नु भनेको गरिबीको रोग हो।

जो मान्छेले गिफ्ट पठाउँछ उ को हो कुन देशमा छ के गर्छ कसैले नि सोधेको देखिँदैन। गिफ्ट पाउने बितिक्कै उसलाई फलो गर्नुस् भनेको देखिन्छ।

मात्र गिफ्ट पायो खुसीले गदगद भयो बस्यो। यो कतिसम्मको अशिक्षा र गरिबी हो?

टिकटकमा रमाउने मानिसहरूको पनि कमी छैन। कतिपय मानिसहरूले टिकटकमा भरपुर आनन्द लिरहेका छन् र खुसी साटेको पनि पाइन्छ।

कृष्ण तामाङ बेलायतमा बस्ने नेपाली महिला हुन्। उनको टिकटक भिडिओ हेर्दा लाग्छ उनी टिकटकमा निकै आनन्द लिइहेकी छन्। उनी टिकटकबाट एउटा लेबलको सेलिब्रिटी नै बनेकी छिन्।

उनको भिडिओ निकै रमाइलो र सन्देशमूलक हुन्छन्। कुनै बनावटी नभएर ओरिजिनल देखिनछन्।

उनको परिवार निकै मिलेको र खुसी र सुखी परिवार देखिन्छ। सब जना एक-आपसमा मिलेर बसेको र रमाइलो गरेको देख्दा धेरैलाई लाग्छ परिवार भनेको यस्तो होस् यस्तो हुनुपर्छ।

उनी नेपालमा आएको बेलामा युट्युबरले उनको इन्टरभ्यू लिएका थिए र उनको इन्टरभ्यू निकै रमाइलो लाग्यो।

उनलाई सोधिएको थियो तपाईंको भिडिओ धेरैले हेर्दो रहेछन्। निकै भ्युज रैछ कति कमाउनुभयो टिकटकबाट?

उनले भनिन्-टिकटकबाट पैसा कमाउन सकिँदैन। टिकटक बनाउने भनेको रमाइलोको लागि हो।

उनले उल्टै प्रश्न गरिन्- कहाँबाट आउँछ सित्तैमा टिकटकमा पैसा?

६० वर्ष कटेकी उनी टिकटक मात्र रमाइलोको लागि प्रयोग गर्दो रहिछन्। यो एउटा उदाहरण टिकटकमा रमाउने मानिसको। धेरै मानिसहरू छन् जसले टिकटकमा भरपुर आनन्द लिरहेका छन्।

टिकटकमा राम्रो कुराको इन्फर्मेसन दिने, विभिन्न ठाउँहरूको बारेमा जानकारी गराउने, करिअरको काउन्सिलिङ गर्ने, लाइभ आएर मान्छेको समस्या सुन्ने, सल्लाह दिने व्यक्तिहरू पनि नभएको होइन।

तर दु:खको कुरा नराम्रो कुराले बजार तातेको बेला राम्रो कुरा छायामा पर्छ।

सित्तैमा पैसा कमाइन्छ भन्ने भ्रममा परेपछि कोही-कसलाई राम्रो कुरा सुन्न मन पक्कै पनि हुँदैन।

धेरै मान्छेलाई यो सामान्य विषय र समस्या नै होइनजस्तो लाग्नसक्छ।

कतिपयले भन्न सक्छन् कि लिनेले गिफ्ट लिराछ, दिनेले दिराछ अरूलाई केको चासो। तर त्यस्तो पक्कै पनि होइन।

चेतनाको स्तरमाथि उठ्नु जरूरी छ। यसरी लाइभ आएर बस्नेलाई गिफ्ट दिने तर बाटोमा निक्कै दु:ख पाएर छटपटिएको व्यक्तिलाई सहयोग गर्न भने हिचकिचाउने बरु बेवास्था गर्ने देख्दा दु:ख लाग्छ।

यदि पैसा बढी भएको भए दु:ख पाएको मानिसलाई सहयोग गर्दा राम्रो हुन्थ्यो कि? मेरो लेखको उद्धेश्य गिफ्ट दिने र लिने व्यक्तिको विरूद्धमा होइन।

टिकटक चलाउने व्यक्तिको विरूद्धमा नि होइन, मैले उठाउन खोजेको विषय हो हामी नेपालीमा चेतना आउनुपर्छ र दरिद्र सोचको अन्त्य हुनुपर्छ।

यसरी माथिका उदाहरण तथा तथ्यबाट के प्रस्ट हुन्छ भने हामी नेपालीमा चेतनाको स्तर निकै कम छ।

बजारमा फैलिएको गलत हल्ला र भ्रमित कुराको पछि लाग्ने बानीको अन्त्य हुनुपर्दछ। राम्रो कुराको नक्कल भने कमै गरेको देखिन्छ तर नराम्रो कुराको छिट्टै नक्कल गरेर अधिकांश मानिसहरू त्यसमा राम्रोसँग नबुझी त्यही चुर्लुम्बै डुबेको देखिन्छ।

हरेक सोसल मिडियाका आ-आफ्नो ठाउँमा राम्रा नराम्रा पक्षहरू छन्।

कुनै पनि एप राम्रो उद्धेश्य राखेर खोलिएको हुन्छ तर त्यसलाई हामीले कसरी प्रयोग गर्छौं भन्ने कुराले निक्कै ठूलो भूमिका खेल्छ।

मान्छे समय अनुसार परिवर्तन हुनुपर्छ। पहिला यस्तो थिएन त्यस्तो थिएन भनेर तर्क गर्ने भन्दा नि समयको मागसँग चल्नुपर्छ।

टिकटक निकै राम्रो र उपयोगी एप हो। यसबाट मनोरन्जन लिनुको साथै निकै कुराको ज्ञान लिन सकिन्छ। तर हरेक दिन-रात त्यसमा झुण्डिएर, अन्द- धुन्द भएर पैसा कामाइन्छ भनेर अफिस नै छुट्छ जसरी बस्नु भनेको चाहिँ ठूलो अज्ञानता हो। यसको अन्य हुनुपर्दछ। – Setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।