भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ ।
कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए ।
यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको अध्यक्ष शर्माले बताउनुभयो । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी रहेका छन ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन । ग्रेडिङ प्रणालीमा पास–फेल छभने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उच्च शिक्षा अर्थात माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन ।