काठमाडौँ । स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित कपिलवस्तुबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागले रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति करिब साढे ९ बजेतिर कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका गाडीहरू जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ सहित उनीहरु दुई जनालाई पक्राउ गरिएको हो ।
यूपी ४५ ए.एस. ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।