काठमाडौं । प्रहरीले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा ७ जना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भई काठमाडौंमा बस्दै आएका २४ वर्षका मिथलेश कुमार मण्डल, २४ वर्षका मुरारी साह, २४ वर्षका आर्यन साह, २४ वर्षका अनिशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २३ वर्षका शिवम कुमार यादव, २४ वर्षका हरिशंकर चेधरी रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं तथा ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न व्यक्तिहरू अवैध क्रिप्टोकरेन्सी (Bitcoin, cash app)मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, ओरियन स्टार जस्ता खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये अधिकांश सूचना प्रविधि पढ्दै गरेका विद्यार्थी हुन् ।
उनीहरू काठमाडौंका विभिन्न क्याम्पसमा पढ्दै आएका थिए । प्रहरीले पक्राउ परेका साथ बाट १५ थान मोबाइल र चार थान ल्यापटप बरामद गरेको छ । पक्राउ परेका ७ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।