काठमाडौँ । काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ–क्यूआरटी परिचालन गरेको हो ।
प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए । पहिलो चरणमा काठमाडौँ जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ ।