काठमाडौं । नेपाल आयल निगम संकटमा पर्ने देखिएको छ । निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ ।
निगम विभिन्न १० वटा उपाय लिखित रुपमै सरकारलाई बुझाएको छ । निगमको प्रस्तावमा पम्पहरुले तेल वितरण गर्दा कोटा तोक्नुपर्ने उल्लेख छ । जसअनुसार मोटरसाइकललाई एक पटकमा ५ लिटर र कार जिपलाई २० लिटरसम्म मात्रै तेल वितरण गर्नुपर्ने उल्लेख छ ।
निगमले सरकार लाई शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्न प्रस्ताव गरेको छ । कम्पनी घाटामा रहेको र निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न निगमले सरकारलाई प्रस्ताव गरेको हो ।
सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न समेत निगमले प्रस्ताव गरेको छ । हाल भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब ऋण चुक्ता गर्नुपर्ने निगमको दायित्व छ ।