काठमाडौं । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले बताए । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ । विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्मभएको थियो ।