वीरगन्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा रौतहट र चितवनका १८ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३ र चितवनका पाँच गरी १८ व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रमुख मनिष दासले बताए ।
अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १८ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।