काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री र गृहमन्त्रीले खुट्टा कमाएको टिप्पणी गरेका छन् । लामिछानेले भ्रष्टाचारको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग समेत गरेका छन् ।
संसद बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँहरूको मुटु देखेका छौँ । कहाँ गएर चेक गर्ने ? जजसको नाम आएको छ सोधपुछ गर्न किन डराएको ? भ्रष्टाचारको विषयलाई बारम्बार कुरा उठाएका थियौँ । तीन दल खुसुर खुसुर बसेका छन् । हामीले आशंका व्यक्त गरेका थियौँ । आज कुनै दल दल बाँकी छैन आरोप लाग्न । अनुसन्धान गर्ने निकायकै प्रमुखहरूकाे नाम आइरहेको छ । अँध्यारो कोठामा गल्लीमा भएको छैन याे काम । दिनदहाडै उज्यालोमा, प्रधानमन्त्री कार्यालयमा, मन्त्री क्वाटरमा र सिंहदरबारमा लेनदेन भएको छ । यसकाे संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्छ,’ ।