
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयनको विषयलाई लिएर देखिने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले भने ‘ मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन, यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ। यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु। प्रधानमन्त्री कार्यालयका कार्यहरूको वार्षिक क्यालेन्डर ( कार्ययोजना ) तयार गरी लागू गर्नुहोस्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी लगत तयार गरी लिखित रूपमा एक तह माथिको सुपरीवेक्षकसमक्ष पेश गर्ने र सोहीअनुसार कर्मचारीको पाक्षिक रूपमा मूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्नुहोस । ’

प्रधानमन्त्री दाहालले कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताए । ‘‘अहिले म प्रधानमन्त्री भएर आएको ७ महिना बितिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको सर्वोच कार्यकारी कार्यालय हो। यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिँगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ। त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ। प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ।’’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूले गरेका कार्यप्रगतिको समीक्षा गर्दा समस्याका चाङ पनि यथावतै रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले सरकारी कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणलाई उपयोगी एवं नतिजामुलक र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नैपर्ने र आवश्यकता देखिएका बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहन गर्नुपर्ने पनि बताए ।