मुगु । मुगु जिल्ला छायाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ भिताडकी २६ बर्षकी नानी बिकको हात भाँचिदा ८ महिनाकी गर्भवती थिइन । असारको अन्तिम साता उनको हात भाचिदा उपचार खर्च पनि नभएर उनको हाल बेहाल थियो । गरिबीको कारण उपचार खर्च नपाउदा धामी बैजी र अन्य उपचार गरी थला परेकी नानी बि.क अहिले सहयोगी मनहरुको सहयोगबाट उपचार गराएर दूधेबालक काखमा लिएर घर फर्केकी छन ।
चरम गरिबीको कारण नानी बिकको घरमा बिहान बेलुकी छाक टार्न समेत समस्या छ । ८ महिनाको गर्भ भएकै बेला खेतमा काम गर्न गएको बेला लडेर हात भाँचिदा उनी थप असहाय बनिन । उपचारका लागि आर्थिक अभाव भइरहेको अवस्थामा सरकारी जिल्ला अस्पतालमा मुगुले जुम्ला रिफर गर्दा उनी थप मारमा परेकी थिइन् । गोजीमा एक रुपैयाँ पनि नभएर उपचार गर्न असम्भव झै अवस्थामा स्थानीय पत्रकार दानबहादुर बूढा र नन्द बहादुर रोकायले समाचार बनाइदिएपछि दाताको सहयोगमा उनको उपचार सम्भव भएको थियो ।
बिदेशमा बस्ने मुगाली रारा प्रवास समाजका सदस्य र अन्य नेपाली दाजुभाई,मेची महाकाली बुहारी अभियान मुगुकी अध्क्षय सुर्जदेबी मल्लले आर्थिक सहयोग गरेपछि नानीको उपचार सम्भव भएको थियो । यस्का साथै मुगु जिल्ला अस्पतालका डाक्टर नकुल शाही, जुम्ला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठन डाक्टरले चिकित्सकीय सेवा, शल्यक्रिया, औषधि सबै निशुल्क नानी विकको उपचार थप सहज भएको थियो ।
अहिले नानी बिकको भाचिएको हातको अपे्रशन सफल भएको छ भने काखमा छोरा समेत च्यापेर घर फर्किएकी छिन् । केही समयको आरामपछि हातको उनको हातमा राखिएको फलामको रड झिकिने चिकित्सकहरुले बताएका छन् ।