काठमाडौं । धनुषाको मिथिला विहारी नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादव विरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी परेको छ । उजुरीपछि आज अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
यादवले विभिन्न तालिम, भक्ता र भौतिक संरचना निर्माण र विद्यालयमा पोशाक वितरण गर्ने नाममा रकम हिनामिना गरी अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा निवेदन परेको हो । उनिविरुद्ध स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले भ्रष्टाचार गरेको किटानी सहित हिजो निवेदन दिए हुन् । शनिवार परेको उजुरीको आधारमा आज दिउँसो अख्तियारको टोलीले धनुषाको मिथिला विहारी नगरपालिका कार्यालयमा छापा मारेको छ ।
वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको जेष्ठनागरिकहरुले बताएको प्रमाणसहित उजुरी हालिएको उल्लेख गरिएको छ ।
त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमूलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको,वडा नं. ९ अन्तर्गत स्ट्रीट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको विल भरपाई पेश गरी १ लाख ७८ हजार भुक्तानी लिएको भन्दै उनीविरुद्ध थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै,वडा ९ मा २ इन्चको कृषि पम्पिङ सेट निर्माणमा लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ । यसैगरी,वडा नं. ९ अन्तर्गत खानेपानीका लागि हाते पाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाखमा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको भन्दै यादव द्वयले छानविन गरी आवश्यक कारबाही गर्न अख्तियारमा निवेदन दिएका हुन् ।
प्रसित उक्त निवेदनमा दुबै आधारभूत विद्यालयले पनि कुनै पोशाक वितरण नभएको र सो वडाका जेष्ठनागरिकहरुले सम्मान नपाएको सहीछाप गरिएको आधार पुष्टि हुने प्रमाण पेश गरिएको उल्लेख छ ।