
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उहाँले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिनुभएको हो ।

राष्ट्रपति पौडेलले सफलताको शुभकामना दिँदै भने“यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिन चाहन्छु । यसप्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन तथा राष्ट्रको प्रतिष्ठा एवम गरिमा बढाउन योगदान दिनेछ ।विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टोलीसँग खेल्ने अवसर नेपाली टोलीका लागि थप उत्साहको विषय हो । उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको अहोरात्रको मेहनत र परिश्रम सफल होस ।”