काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्नुभएपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल बैरागी र ठाकुर गैरेले नियमापत्ति जनाएका थिए ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका सदस्यको एक चौथाई ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भएको हो ।