काठमाडौं । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकहरुबिच झडप हुदाँ ११ जना घाइते भएका छन् । तीन जना प्रहरीपनि घाइते भएका छन् ।
वीरगन्जको बाल सुधार गृहमा केहि दिन अघि भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र वीरगन्जमा पहिलेदेखि बस्दै आएका बालकहरुबिच मंगलबार राति विवाद भई झडप हुदाँ सुधारगृह रातभर तनावग्रस्त बनेको थियो ।
अहिले स्थिति सामान्य बनेको छ । स्थिति सामान्य बने पनि सुरक्षाकर्मी खटाइएको छ । प्रहरीका अनुसार घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
सुधारगृहमा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेपछि पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह नै उपस्थित भएका थिए । उनकै नेतृत्वमा प्रहरी पुगेको थियो।