
सर्लाही । सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू राती कायम राख्दै दिउँसोको समयमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ बजेदेखि ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने निर्णय गरेको छ । असोज ४ गते बेलुकी दुई पक्षबीच झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साबिकको मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ । प्रशासनले दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।