बारा । बारामा धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा एक पुरुष को शव फेला परेको छ । प्रहरीले शवको पहिचान समेत गरेको छ ।
भेटिएको शव जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती बस्ने ३३ वर्षीय अमरेश कुमार सिंहको रहेको प्रहरीले जनाएको छ । उनको शव हत्या गरिएको अवस्थामा दशगजा क्षेत्र नजिकै फेला परेको हो । उक्त घटना स्थलमा बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले आफै पुगेका थिए ।
शव भेटिएका अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको निशान देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
प्रहरीले घटनामा अनुसन्धानको लागि दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराको अनुसार घटना बारे थप अनुसन्धान भैरहेको छ ।