काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु गरिएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ ।
सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० वटा रूख काट्नुपर्ने र पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस्तै, आयोजनाले कास्की खण्डमा एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ ।
वि.स. २०२६ सालमा बनेको मुग्लिन–पोखरा सडकमा गाडीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । सडक विस्तारको लागत १३ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ रहेको छ । ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा दमौलीको मादी नदी र पोखराको सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको आयोजनाले जनाएको छ । -Ujjiyaloo