काठमाडौं । विघटन गरिएको प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेस फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीको लाइनमा उभिएको आरोप लागेको छ। कांग्रेसले आफ्नै समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाए पनि, ओलीको स्वेच्छाचारी शैली र जेनजी आन्दोलनको दबाबका कारण सत्ता हातबाट छुटेपछि यसले फेरि ओलीको ‘पुच्छर’ बन्दाे गरेको बुझिन्छ।
जेनजी आन्दोलनको विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सत्ता सम्हालेको छ। तर, कांग्रेसले आफूले गुमाएको नेतृत्व पुनःस्थापना गर्ने बहानामा संसद पुनःस्थापनाको मागसहित एमालेकै मार्ग पछ्याएको विश्लेषण गरिएको छ।


ओलीको निर्देशनमा एमाले सांसदहरूले संसद पुनःस्थापनाका लागि हस्ताक्षर संकलन थाल्दा, कांग्रेस सांसदहरूले पनि त्यसै अभियानमा सहभागी भएका छन्। यसपछि कांग्रेस पुनः ओलीकै पछाडि उभिएको टिप्पणी राजनीतिक वृत्तमा उठेको छ।
प्रधानमन्त्री ओलीपछिका सम्भावित प्रधानमन्त्रीका रूपमा रहेका शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा निजी निवासमै जेनजी आन्दोलनकारीबाट कुटिएका थिए। अहिले उनीहरू थप उपचारका लागि सिङ्गापुरमा रहेको बताइएको छ।
राजनीतिक अस्थिरता र सत्ता–कुर्चीका जोडतोडबीच कांग्रेस–एमाले सम्बन्ध, सत्ता समीकरण र सडक आन्दोलनबीचको शक्ति–खिचाइले आगामी दिनमा नेपाल राजनीतिक वातावरण झनै तात्न सक्ने देखिएको छ।

