वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले महानगरमा अनियमित तरिकाले गरिएका कामहरुको छानविन गरिने बताएका छन् ।
महानगरमा भएका सम्पूर्ण कामको छानविन गर्दै अनियमितता भएको भेटिएको खण्डमा अख्तियारमा फाइल पठाएर कारवाहीको अगाडि बढाउने सिंहले बताएका हुन् ।
मंगलबार बिहान मेयरमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपश्चात मतगणनास्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनिर्वाचित मेयर सिंहले भने, ‘महानगरमा यसअघिका जनप्रतिनिधिले जति पनि भ्रष्टचा गरेका छन्, ती सबै फाइल अख्तियारमा पठाउँछु, अख्तियारले छानबिन गरेर कारवाही अगाडि बढाउछ ।’
त्यस्तै आफूले सपथ लिएको २४ घण्टा भित्र वीरगञ्ज महानगरपालिकाका वासिन्दाले परिवर्तनको आभाष गर्ने सिंहले बताए । ‘जुन दिन मैले शपथ लिन्छु त्यसको २४ घण्टाभित्र जनतालाई परिवर्तनको अनुभुति हुने गरि काम गरेर देखाउँछु । वीरगञ्जवासीले दैनिक भोगिरहेका समस्या सामधान नै मेरो पहिलो र मुख्य प्राथमिकता हुनेछ,’ उनले भने ।
वीरगञ्जको सरसफाई, पानीको उचित निकास गर्दै शहरमा हुने डुबान समस्यालाई समाधान गर्नु पनि आफ्नो पहिलो काममध्ये हुने उनले बताए । त्यसैगरी सिंहले करको दर न्यूनीकरण, सहज र सुलभ स्वास्थ्य सेवा, शिक्षा, रोजगारी लगायतका विषयमा विशेषज्ञ र विज्ञहरुसँग परामार्श गरेर नगरवासीको हितमा निर्णय लिने प्रतिक्रिया दिए ।
सिंहले पाँच वर्षको आफ्नो कार्यकालमा चुनावी प्रतिबद्धता पत्रमा लेखिएको भन्दा पनि बढी ला, गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार बनेर सिंह ४६ हजार २ सय १५ मत प्राप्त गरि मेयरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगी भन्दा २२ हजार ५ सय ४४ मत बढि ल्याएर निर्वाचित भएका हुन् ।