भैरहवा । भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ । आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले असगर अली मियाले दिएको श्रम स्वीकृति निवेदनलाई स्वीकृत गर्दै कार्यालयको उद्घाटन गर्नुभएको हो । मियाले कतार जान श्रम स्वीकृतिका लागि आवेदन दिनुभएको थियो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलायन्सले उडान सुरु गरेपछि नेपाल सरकारले भैरहवामा श्रम तथा रोजगार कार्यालय खोल्ने तयारी गरेको थियो । श्रममन्त्री श्रेष्ठले केही हप्ता पहिले भैरहवा आई असार १ गते कार्यालय खोल्ने उद्घोष गर्नुभएको थियो ।
सोहीबमोजिम आज जिल्ला प्रशासन कार्यालयको अगाडि उक्त कार्यालय सञ्चालनमा आएको हो । रोजगारीको सिलसिलामा विदेश जानेका लागि पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । योसँगै श्रम स्वीकृतिका लागि काठमाडौँ धाइरहनुपर्ने बाध्यता हटेको छ ।
मन्त्री श्रेष्ठले भैरहवावासीको वर्षौँदेखिको सपना पूरा गर्न कामको सुरुआत भएको भन्दै अब छिट्टै नै उपसचिवको दरबन्दी ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको बताउनुभयो ।