काठमाडौं । नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले बैंक अफ काठमाण्डूसँग एकापसमा गाभिने निर्णय गरेका हुन् । दुई बैंकबीच एकापसमा गाभ्न गाभिनका लागि आज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्रमा हस्ताक्षर भएसँगै रु ५२ अर्ब कूल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो स्थान बनाउनेछ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । यसअघि ग्लोबल आइएमई बैंकमा बज्राचार्य नै प्रमुख कार्यकारी अधिकृतका रूपमा हुनुहुन्छ ।