काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० प्रशिक्षार्थीलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिक सहित विद्युतीय र अन्य सवारीसाधन मर्मतको ‘अन द जब ट्रेनिङ’ मा पठाउने भएको छ । यसका लागि काठमाडौँ महानगर र चाँगुनारायण फाउन्डेसन बिच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गरेका छन । गएको वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिएका थिए ।
उनीहरु मध्ये सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाएका थिए । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ्’ मा पठाइनेछ ।
फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि शिफारिस गर्नेछ । यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ । यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन ।