सप्तरी । सप्तरीमा आगलागी हुँदा ६ वटा घरमा क्षति भएको छ । जिल्ला को छिन्नमस्ता गाउँँपालिका वडा नम्बर ५ लोखरम भटोत्तरमा आज बिहान आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको हो ।
वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको बताए । उनलेे गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।
चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताउनुभयो । आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन् ।
आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा रु २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको भरत कामैतले बताए ।