काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने बताएका छन् ।
प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घानका क्रममा उनले खप्तड आर्थिक विकास र पर्यटन विकासको केन्द्र बन्न सक्ने भन्दै, पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न सरकारले आवश्यक पहल गर्ने बताए ।
उनले खप्तड विकास कोष गठन गर्ने विषयमा छलफल भइरहेको भन्दै सुदूरपश्चिम प्रदेशको विकासको लागि सरकार प्रतिवद्ध रहेको बताए ।
आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको उनको भनाई छ ।
सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायतको उपस्थित थिए ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट सुरु भएको आध्यात्मिक सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।