काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेरिनरी सेवाको पुनर्संरचना गर्ने चरणमा रहेको बताएका छन्।
उनले शुक्रबार काठमाडौँमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रिय स्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । गृहमन्त्री श्रेष्ठले स्वास्थ्य पशु चिकित्सकहरूको ज्ञान र सीपलाई मुख्य प्रवाहमा ल्याएर ती क्षेत्रहरूलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले भने,’हामीले यस उद्देश्यका लागि पर्याप्त नियामक फ्रेमवर्कहरू निर्माण गर्नुपर्छ भन्ने मैले बुझेको छु। हामी नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा छौँ। नेपाल सरकारले जुनोटिक र अन्य सङ्क्रामक रोगहरूको नियन्त्रण र खाद्य सुरक्षाका समस्याहरूमार्फत जनस्वास्थ्यको सुरक्षाका लागि पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्त्वपूर्ण छन भनी महसुस गरेको छ। यस्तो अवस्थामा हामी नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिबद्ध छौँ।’