काठमाडौँ । नेपाल प्रहरीले अदालत परिसरबाट भागेका व्यक्ति ३ घण्टापछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई ३ घण्टापछि गए राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको बताए ।
अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताउनुभयो । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको बताए ।