२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

मुगु। मुगुको  सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ।

उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै हुँदैछिन्। वर्षका आधा दिन भारत गएर मजदुरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ । श्रीमतीकोे मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसीमै छन् । उनी केही बोलेनन् ।

Vivo Y28
Daraz

‘अरूलाई त बनिबुतो गरेर हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने।

सलबहादुर आफैँ पनि बिरामी छन् । उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन्। रोग र शोक एकैपटक झेलिरहेको परिवारलाई पोषिलो आहार र उपचारको खाँचो छ। तर बिहान बेलुकाको दुई छाक जुटाउन समेत कठिन हुने स्थितिमा गुज्रिरहेको छ।

‘घरमा दुई छाक टार्नै धौ–धौ छ। मजदुरी गरेर खान्थ्यौँ,’ सलबहादुरले भने, ‘अहिले रोग र भोकको विपत्ति एकैपटक आयो, ठुलाले जे खाए पनि हुनेरहेछ, यी कलिला बालबच्चालाई के खुवाएर बचाऔँ?’ घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मंसिरमा सलबहादुर छोरालाई लिएर मजदुरी गर्न भारत पुगेका थिए।

तर, दुई महिना नबित्दै घरमा बिपत्ति आइलाग्यो। सबै जना बिरामी परेको खबर पाएपछि उनीहरू घर फर्किए, तर घर आइपुग्दा बुहारीको श्वास रोकिसकेको थियो। गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ। ‘घरैभरि बिरामी छन्। मान्छेको बिचल्ली छ,’ सलबहादुरले भने, ‘वल्लोघर पल्लोघरका नानीहरुले दुध खुवाएर त्यो बच्चालाई बचाएका छन्। कसलाई के भनौँ ? कसरी मागौँ?’

ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाको समेत मृत्यु भएको छ भने अहिले पनि सयौँ जना बिरामी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।