काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ ।
उहाँले आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गर्नुभएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहनुभएका सचेतक भुसालले आज उहाँसँग भेट गर्नुभएको थियो ।
समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पार्नुभएको थियो । समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसक्नुभएको बुझिएको छ ।