काठमाडौं । आज नागपञ्चमी पर्वको अवसरमा घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाइएकोे छ ।
आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रहिआएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुराको उल्लेख बराहलगायतका पुराणमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानमा नागको पूजाआराधना गरी मेला लाग्ने गर्दछ । साथै पशुपतिस्थित वासुकी मन्दिरमासमेत यस दिन विशेष पूजाआजा गर्ने गरिएको छ ।
Photo : Rezon Manandhar